प्रेस बिज्ञप्ती
विगत केही दिनदेखि सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा "सिद्धलेक गाउँपालिकाले आ.व. २०८२/८३ मा किसानहरूका लागि अनुदानमा वितरण गर्ने भनिएको मिनी टिलर (हाते ट्र्याक्टर) खरिदमा अनियमितता भएको, कृषकहरूबाट रकम सङ्कलन गरी सामान उपलब्ध नगराएको भन्ने जस्ता आधारहीन, कपोलकल्पित र भ्रामक विषयहरू समेटेर सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले गरिएका प्रचारप्रति सिद्धलेक गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ
सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा मिनी टिलर ट्रयाक्टर वितरण गर्न ई-बिडिङ (e-Bidding) प्रक्रियामार्फत खरिद प्रक्रिया अगाडि बढाएको थियो । सो खरिद प्रक्रिया पश्चात् आपूर्तिकर्ताबाट कार्यालयमा प्राप्त भएका मिनी टिलरहरूको गाउँपालिकाको खरिद मूल्याङ्कन समिति तथा सम्बन्धित विषय विज्ञबाट प्राविधिक परीक्षण (Quality Check) गरिएको थियो। मिनी टिलरहरू पालिकाले तोकेको प्राविधिक स्पेशिफिकेसन (Technical Specifications) अनुसार रहेको ठहरिएमा मात्र स्वीकार गर्ने व्यवस्था रहेकोमा मिनी टिलरहरू गाउँपालिकाद्वारा तोकिएको प्राविधिक स्पेशिफिकेसन बमोजिम नभएको र तोकिएको मापदण्ड पूरा नगरेको पाईएकाले उक्त सामानहरू पालिकाले स्वीकार नगरेको र स्वीकार गर्ने सम्भावना समेत नरहेको स्पष्ट पारिन्छ । तत्पश्चात्, उक्त मिनी टिलरहरू आपूर्तिकर्तालाई नै फिर्ता पठाइसकिएको छ। सो अवस्थामा कृषकहरूबाट लागत साझेदारी (५०% अंश) वापतको रकम उठाउने कुनै कानुनी तथा व्यावहारिक आधार नरहेको र सो वापत कृषकहरूबाट कुनै पनि रकम नउठाइएको सर्वसाधारण सबैको जानकारीका लागि स्पष्ट पारिन्छ ।
सिद्धलेक गाउँपालिका सधैं सुशासन, पारदर्शिता र किसानहरूको हकहितप्रति पूर्ण प्रतिबद्ध छ । तसर्थ, आधिकारिक निकायसँग सत्यतथ्य नबुझी भ्रामक र निराधार सामाजिक सञ्जालका पोस्टहरूप्रति विश्वास नगर्न सम्पूर्ण गाउँवासी, कृषक तथा आम नागरिकमा हार्दिक अपिल गर्दछौँ । साथै, तथ्यहीन सूचना सम्प्रेषण गरी स्थानीय सरकार र आम नागरिकबिच भ्रम फैलाउने कार्य नगर्न र यस्ता विषयमा आधिकारिक सूचनाका लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।